चतरा : सुनसरीको वराहक्षेत्र ९ राजाबासमा गएराति भएको आगलागीबाट विनोद मण्डलको घरमा क्षति पुगेको छ ।

आगलागीबाट खाद्यन र लगाकपडासंगै २ लाख भन्दा बढीको क्षति भएको पीडित विनोद मण्डलले बताएका छन् । आगलागी पीडित विनोद मण्डलको परिवारलाई नेपाली काँग्रेस वराहक्षेत्रका नेताहरूले खाद्यन उपलब्ध गराएर सहयोग गरेका छन् ।

गएराति करिब ७ बजेको समयमा मण्डलको घरमा आगो लाग्दा घरमा रहेको खाद्यन र लत्ताकपडा पूर्ण रूपमा जलेर क्षति भएको छ ।

प्रकाशपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक विनोद दाहालका अनुसार साझको समयमा पूजा गर्दा बालिने साझ बत्ती ( दियो ) बाट आगो फैलँदा आगलागी भएको हो । पक्का घर भए पनि माथि सेन्टर बेरा बासका सामाग्रीबाट आगो फैलिएको थियो ।

स्थानीयवासी , प्रहरी र नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको दाहालले बताए । दाहालका अनुसार आगलागीबाट लत्ताकपडा , खाद्यन , टिभी लगाएका सामाग्री जलेर क्षति भएको छ ।

चटपटे , चप लगायतका सामाग्री बिक्री गरेर जीवन निर्वाह गरिरहेका मण्डलको घरमा आगो लाग्दा खाद्यन सबै जलेर क्षति पुर्‍याएपछि नेपाली काँग्रेस वडा नं ९ समितिको समन्वयमा नेपाली काँग्रेस नगर समितिका नेताहरूले खाद्यन सहयोग गरेका हुन् ।

आज बिहान नै आगोलागिबाट पीडित मण्डलको घरमा पुगेर नेपाली काँग्रेस नगर सभापति रमेश कार्कीले २ बोरा चामल , नुन , तेल , दाल , सब्जी लगायतका खाद्यन उपलब्ध गराएका हुन् । सभापति कार्कीसँगै राई सङ्घ सुनसरी सभापति सन्त राई , नेपाली काँग्रेस वडा नं ९ सभापति , क्षेत्रीय प्रतिनिधि जोन लिम्बू लगायतका नेताहरू पुगेका थिए ।