धरान : धरान-१३ मा रहेको धरान कृषि उपज बजारले आठौँ पटक देशभरको बजार मध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धरानको कृषि उपज बजारलाई यो वर्षको प्रथम बजार घोषणा गरेको हो । देशभरिका ११ वटा सङ्घीय स्तरको कृषि थोक बजारमध्ये उत्कृष्ट हुँदै धरान कृषि बजारले प्रथम पुरस्कार हात पारेको हो ।

२०७५ साल यता लगातार धरानको कृषि बजार प्रथम हुँदै आएको छ । विश्व खाद्य दिवसको अवसर पारेर कृषि मन्त्रालयले हरेक वर्ष उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्दै आएको छ ।

हरेक वर्ष अक्टोबर १६ मा देशभरका उत्कृष्ट कृषि थोक बजारहरूलाई मूल्याङ्कन गरी पुरस्कार वितरण गर्ने क्रममा आज एक समारोहका बिच धरानको कृषि उपज बजार स्थल प्रथम, सिन्धुली कृषि थोक बजार दोस्रो र बुटवल कृषि थोक बजारलाई तेस्रो घोषणा गरी पुरस्कृत गरिएको हो ।

कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले आज काठमाण्डौंमा पुरस्कार ग्रहण गरेका छन् । पुरस्कार बापत प्रमाण पत्र र नगद १० हजार रहेको भट्टराईले जानकारी दिए । उनका अनुसार प्रथम भएबापत मन्त्रालयबाट आगामी वर्ष बजेट विनियोजनमा पहिलो प्राथमिकतामा राखिने भट्टराईले टेलिफोनमा बताए ।

किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्थालगायतको अनुगमन र मूल्याङ्कन गरेर बर्षेनी थोक बजारलाई पुरस्कृत गर्ने गरिएको छ ।

आज कृषि थोक बजारहरू र देशभरिका कृर्षकहरु मध्येबाट उत्कृष्ट भएकाहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ । प्रथम, दोस्रो र तेस्रो हुने बजारहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाण पत्र पाएका छन् ।