विराटनगर : सुनसरीमा १६ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

४९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३२, झापामा २७, सुनसरीमा १६, इलाममा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा २, मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, सुनबर्षी, पथरीशनिश्चरे र रंगेलीमा १-१, झापाको भद्रपुरमा ५, मेचीनगर, कनकाई र बिर्तामोडमा ४-४, दमक र अर्जुनधारामा ३-३, हाल्दिबारी, बाहृदशी, गौरादह र कमल गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा ११, धरानमा ४ र इनरुवामा १, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमामा २-२, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९६ महिला र ८४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको ।