धरान : धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरूलाई खाद्य स्वच्छता सम्बन्धी अभिवृद्धि तालिम दिइएको छ ।

खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान उपमहानगरपालिका र सोही वडाको सह–आयोजनामा उनीहरूलाई दुई दिने खाद्य स्वच्छता अभिवृद्धि तालिम दिइएको हो ।

वडा नं. १८ को वडा कार्यालयमा आयोजित खाद्य स्वच्छता सम्बन्धी अभिवृद्धि तालिममा ४० जना स्ट्रिट फुड व्यवसायीहरू सहभागी भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । आज देखि सुरु भएको अभिवृद्धि तालिम भोलि समापन हुनेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख काशीनाथ घिमिरे, तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजन कुमार रिजाल र खाद्य अधिकृत नीरज कटवालले सहजीकरण गरिरहेका छन् ।

तालिममा सहभागी भएका व्यवसायीहरूलाई शनिवार तालिम सम्बन्धी पुस्तक, मास्क, ग्लोबल र प्रमाण पत्र वितरण गरिने अधिकृत सापकोटाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि यही वडामा भएको बताउँदै बिरामी र बिरामी कुरुवाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ खाद्यवस्तु विक्री वितरण गर्न आग्रह गरे ।

मेयर राईले सडक छेउछाउमा विक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता गुणस्तर गर्नु नै यो कार्यक्रमको उद्देश्य रहेको बताए । मेयर राईले भने, ‘व्यवसायीहरूलाई मर्यादित, विश्वासिलो बनाउन तालिम आयोजना गरिएको हो ।’

कार्यक्रममा सम्बोधन गर्दै उपमेयर मञ्जु भण्डारीले पनि सडक छेउछाउ खाद्यपदार्थ विक्री वितरण गर्दा गुणस्तरीय खानेकुरा विक्री वितरण गर्नुपर्नेमा जोड दिए ।