धरान : नेपाली काँग्रेस धरान उपमहानगरपालिका वडा नं. १० को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।

काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा गत भदौ २१ गते भएको वडा अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
१० नं. वडामा पावल राईको सभापतित्वमा ४० जना सदस्य रहेका छन् । शुक्रवार धरान १९ स्थित हरियाली पार्कमा आयोजित पदस्थापन कार्यक्रममा विगत लामो समयदेखि पार्टीमा योगदान पुर्‍याउँदै आएका ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो ।

ज्येष्ठ नागरिकहरू कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद चापागाईँ र प्रेम कुमार परियारलाई सम्मान गरिएको हो। यस्तै, धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गरेर डाक्टर बन्न सफल भएका १० नं. वडाका डा. निष्कर्ष रिजाल शर्मा, कर्मचारी सुन निरौला र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका लेक्चर ज्योति आचार्यलाई सम्मान गरिएको थियो ।

नेता एवं प्रदेशसभा सदस्य श्रेष्ठले अब हुन लागेको क्षेत्रीय र जिल्लाको अधिवेशन पार्टीको आन्तरिक चुनाव भएको कारण एकजुट भएर सफल बनाउनुपर्ने बताए । उनले आगामी स्थानीय निर्वाचनमा नगरको मेयरदेखि लिएर सबै वडामा नेपाली काँग्रेसले विजय हासिल गर्ने गरी सङ्गठनलाई बलियो बनाएर लानुपर्नेमा दिए ।

पदस्थापन कार्यक्रममा नेपाली काँग्रेस धरानका नगर सभापति श्याम पोखरेल, निवर्तमान सभापति एवं मेयर तिलक राई, निवर्तमान वडा सभापति सुरेश निरौला लगायत नेताहरूले सम्बोधन गरेका थिए ।