इटहरी : पछिल्लो समय सुनसरीको इटहरीमा सामाजिक क्षेत्रमा सक्रिय एकीकृत कल्याण फाउन्डेसन नेपालले विपन्न महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ । इटहरी-९ स्थित मरिक टोलमा शनिवार एक कार्यक्रमको आयोजना गरी फउन्डेशनले १० हजार मूल्य बराबरको प्याड वितरण गरिएको संस्थाका अध्यक्ष श्याम घिमिरेले जानकारी दिए ।

फउन्डेशनले गत असोज १६ गते सेनेटरी प्याडमा लगाइको करको विरोध तथा एक दिने चिया च्यारिटी कार्यक्रमको आयोजना गरी सङ्कलन गरेको रकम र इटहरीका युवा व्यवसायी अनुरोध थापाको आर्थिक सहयोगमा प्याड वितरण गरिएको हो ।

विपन्न बर्का महिला तथा किशोरीहरूले सहज रूपमा सेनेटरी प्याड किन्न नपाएको अवस्थामा यस प्रकारको कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाका १५ जना कार्यसमितिका पदाधिकारीका साथै इटहरीको विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा १ सय ८० जना महिला तथा किशोरीहरूलाई जनही एक महिनाका लागि पुग्ने प्याड वितरण गरिएको एकीकृत कल्याण फाउन्डेसनकी उपाध्यक्ष रजिना तिम्सिनाले बताइन।

सामाजिक क्षेत्रमा सक्रिय एकीकृत कल्याण फाउन्डेसनले यसअघि आँखा शिविर, वृक्षारोपण, इटहरी रन, लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको जनाएको छ।