धरान : पत्रकार एवं सामाजिक व्यक्तित्व किसन राईको शनिवार गृहनगर धरानमा अन्त्येष्टि गरिएको छ ।

उनको जातीय परम्परा अनुसार शनिवार दिउँसो धरान १५ मा रहेको वायुङ राईहरुको समाधी स्थलमा अन्त्येष्टि गरिएको हो । उनको शनिवार बिहान वीपी प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो भने अन्त्येष्टि अघि साकेला पार्कमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।

सो श्रद्धाञ्जली कार्यक्रममा परिवार, किरात वायुङ राईहरूको संस्था, किरात राई यायोक्खा सुनसरी, पत्रकार महासङ्घ सुनसरी, हङकङस्थित नेप्लीज यूथ अर्गनाइजेसन, धरान हङकङ मञ्च, निजी विद्यालयहरूको संस्था, आफन्तजन तथा वडा १५ का स्थानीयबासीहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Kisan-Rai-2 1

पत्रकार राईको पश्चिम भ्रमण सकेर धरान फर्कने क्रममा कार्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ को पंखु खोला भीरबाट लडेर मृत्यु भएको थियो । गाडीमा साथीहरूसँग फर्किरहेका राई पंखु खोला भीरमा शौच गर्न गएको बेला भीरबाट खसेका थिए । भिरबाट राई २ सय मिटर तल खसेका थिए ।

मृतक राई हङ्कङमा दुई दशकयता पत्रकारिता गरिरहेका थिए । उनी प्रकाशक तथा सम्पादक रहेको नेपाली भाषाको साप्ताहिक पत्रिका एभरेस्ट दुई दशकदेखि निरन्तर प्रकाशन भइरहेको छ । उनी नेपाल पत्रकार महासङ्घ हङकङको अध्यक्ष पनि हुन ।

साथै उनी नेपाल आदिवासी जनजाति महासङ्घ हङकङको अध्यक्ष, एनआरएनए हङकङको उपाध्यक्ष लगायत संघसंस्थाहरुको नेतृत्वदायी भूमिका पनि निर्वाह गरेका थिए । हालै मात्र उनलाई हङकङ सरकारले सम्मान गरेको थियो भने नेपाल सरकारले पनि उनलाई पदवीबाट विभूषित गरेको थियो ।

Kisan-Rai-1 1