धरान : धरानमा पूर्व श्रीमतीलाई जर्वजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।

धरान-१५ मा काठ व्यवसायी समेत रहेका ती पुरुषले गत बिहीबार बिहान ६ बजेको समयमा पूर्व श्रीमतीलाई लक्षार पछार पारी ५२ वर्षीय ती पुरुषले बलात्कार गरेको जाहेरी परेकोले उनलाई पक्राउ गरी ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर प्रहरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए ।

उनीहरूको पहिले नै पारपाचुके भइसकेको र दोस्रो श्रीमतीको घरमा ज्वाईघर भएर ससुरालीमा नै बसेर ससुरालीले बनाएको घर, सम्पत्ति तथा फर्निचर हाउस सञ्चालन गर्दै आएका ती पुरुषलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने महिला अधिकारकर्मीहरूले माग गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार छोरा छोरीहरू अर्को कोठामा सुतिरहेको अवस्थामा यो घटना भएको थियो । जब आवाज आयो अनि आएर हेर्दा त उनले पूर्व श्रीमतीलाई लडाएको , कपडा च्यातिएको र उनको सर्ट पनि खोलेको अवस्था थियो ।

घटनाको प्रकृति हेर्दा र प्रहरीले गरेको स्थलगत मुछुल्काबाट पनि जबरजस्ती करणी गरेको देखिएको प्रहरीले बताएको छ । घटनाको सम्बन्धमा अनुसन्धान धरान प्रहरीले अगाडी बढाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।