धरान : किरात राई यायोक्खा जिल्ला कार्यसमितिको नवौँ अधिवेशन आगामी मङ्सिरमा गर्ने निर्णय भएको छ ।

शनिवार बसेको १७ औँ बैठकले किरात राई यायोक्खा जिल्ला कार्यसमितिको कार्यालय धरान १० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा मङ्सिर २४ र २५ गते नवौँ जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको हो ।

किरात राई यायोक्खाको पूर्व केन्द्रीय अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो मेयर कोषबाट किराया सुनसरीको कार्यालय व्यवस्थापनका लागि १ लाख ५० हजार बराबरको मल्टिमिडिया, मिक्सर, साउन्ड सिस्टम हस्तान्तरण गरेका छन् ।

किरात राई यायोक्खाको १७ औँ पूर्ण बैठकमा किराया सुनसरीलाई उक्त मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको किराया सुनसरीका सचिव राजेन्द्र राईले जानकारी दिए ।

यस्तै, बैठकमा १२ औँ राष्ट्रिय जनगणनामा जात÷जातिको महलमा राई, पुर्खाको भाषामा आ–आफ्नो थरगत भाषा (जस्तै: दुमि, बान्तवा, चाम्लिङ वाम्बुले, तिलुङ, खालिङ, बायुङ,बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, कोयू,कोयी, साम्पाङ, थुलुङ, पुमा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ,छुलुङ, फाङ्दुवाली, मुगा,मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम,लिङ्खिम, देवास, मेवाहाङ, मध्ये कुनै एक लेख्ने, लेखाऔँ), मातृभाषामा आ–आफ्नो थरगत भाषा लेख्ने, लेखाऔँ, दोस्रो भाषामा नजिकको राई जातिको थरगत भाषा मध्येको कुनै एक भाषा लेख्ने र धर्मको महलमा किरात लेख्ने, लेखाउन मातहतका कार्यसमितिहरू, भाषिक, भातृ संस्थाहरूलाई परिचालन गर्ने र गराउने निर्णय गरिएको छ ।

किराया सुनसरीका अध्यक्ष बलराम राईले १७ औँ पूर्ण बैठकमा सम्पूर्ण किरात राईहरूलाई १२ औँ राष्ट्रिय जनगणनामा आफ्नो जात/जातिको महलमा राई, पुर्खाको भाषामा आफ्नो मातृभाषा, मातृभाषामा कुनै थरगत किरात राईहरूको एक भाषा र धर्मको महलमा किरात लेख्न आग्रह गर्दै नौ वटा प्रस्तावमाथि निर्णय गरी १७ औँ पूर्ण बैठक समापन गरिएको किराया सुनसरीका सचिव राजेन्द्र राईले बताए ।