बल्ल भेट भएको आजै हो ..
प्याच्च बोल्न मायालाई लाजै भो ...
बल्छी काँडैले ...
हितैको मायालाई छेक्यो डाँडैले ....
यो गीत यति बेला सामाजिक सञ्जाल युट्युब र टिकटकमा लोकप्रिय छ । तर यही गीतका गायक तेजेन्द्र गन्धर्व भने दैनिक जीवन गुजारा गर्नका खातिर गाउँघर र शहर बजारका घर दैलो चहार्दै छन् ।

पूर्वी पहाडी जिल्ला भोजपुरको साबिकको जयरायोटार हाल अरुण गाउँपालिका-६ माङ्दिङमा बाबा स्वर्गीय कर्ण गन्धर्व र आमा बत्तीमाया गन्धर्वको कोखबाट २०४७ सालमा जन्मिएका तेजेन्द्र गन्धर्वले ७ वर्षको उमेर देखिनै सारङ्गी बजाउँदै गीत गाउन थालेका हुन् ।

गन्धर्व संस्कृति सारङ्गीको संरक्षण गर्नुपर्छ भन्ने भावनाका साथ तन मन दिएर सधैँ लागि रहने उनलाई चर्चित रियालिटी सो भ्वाइस अफ नेपालको सिजन १ ले गाउँमै आएर भेट्यो । व्लाइन्ड अडिसन देखि सुरु भएको भ्वाइस अफ नेपालको सिजन १ को यात्राको क्रममा उत्कृष्ट १७ औँ सम्म पुग्न सफल भए । चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन १ मा प्रस्तुति दिएर रातारात सेलिवेर्टी बनेका उनै तेजेन्द्र गन्धर्व यति बेला धरानमा दैनिक जीवन गुजाराको सङ्घर्षमा छन् ।

कहिले सडक किनारामा त कहिले घर घर डुल्दै गरेका हुन्छन् भने धरानका विभिन्न मठमन्दिरहरूको आसपासमा फुटपाथमा सारङ्गीको तालमा लोक भाका गुन्जाइरहेका हुन्छन् । यसरी विभिन्न ठाउँमा सारङ्गी बजाएर गीत गाउँदा कुनै कुनै ठाउँमा अवरोध पनि हुने गरेको उनी बताउँछन् ।

उनको बाबाको केही महिना अघि निधन भयो । आमा, श्रीमती र दुई छोरीको लालन पालनका लागि धरानका सडक र घर घर चाहारीरहेका गन्धर्व कहिले गीता मन्दिरको धर्मशालामा त कहिले आफ्नो आफन्तकोमा बस्ने गर्दछन् ।

तर अहिले भने धरानको सिद्धकाली चौक आसपासमा डेरा भाडामा बसेको बताउने तेजेन्द्र गन्धर्व एउटा चर्चित रियालिटी सोमा पुगेर सेलिबेर्टीको पहिचान बनाएर पनि उही पुरानै अवस्थामा फर्किन बाध्य भएका छन् । भ्वाइस अफ नेपालको सिजन १ मा पुगेर उत्कृष्ट १७ औँ सम्म पुगेर आफ्नो परिचय पहिलेको भन्दा फेरिएको बताउने गन्धर्वको अवस्था भने पहिलेकै उस्तै अवस्थामा आइपुगेका छन् ।

उनी भन्छन् -गन्धर्वले सारङ्गी बजाएर मागी खाएको भन्दा पनि गन्धर्व संस्कृतिको प्रवर्द्धन गरेको बुझिदिन आग्रह गर्दछु । गन्धर्वको पेसा सारङ्गी बनाउने, बजाउने र गाउने । यही पेसा पछिल्लो पुस्ताले भुल्दै जान थालेको र सारङ्गीनै पो लोप होलाकी भन्ने चिन्ताले आफूलाई सताएको उनी बताउँछन् ।

सारङ्गी नेपाली लोक बाजाहरू मध्येको एउटा महत्त्वपूर्ण तथा मुख्य बाजा हो । यसको संरक्षण र सम्र्वद्धनका लागि जस्तोसुकै परिस्थिति आए पनि लागि पर्ने उनको भनाई छ । धरानमा धेरै जना सारङ्गी सिक्न मन पराउने छन् । उनीहरूलाई लक्षित गरेर सारङ्गी प्रशिक्षण केन्द्र सञ्चालन गरेर नयाँ पुस्तालाई सारङ्गी हस्तान्तरण गर्ने उनको उत्कट इच्छा छ । तर यसो गर्न आर्थिक अवस्थाको कारण सकेका छैनन् ।

बाचुन्जेल सारङ्गीको संरक्षणमा लागिरहने बताउने तेजेन्द्र गन्धर्वको भावनालाई बुझेर स्थानीय र केन्द्र सरकारको अलिकति सहयोग भयो भने उनलाई ठुलो राहत मिल्ने थियो । गीत सङ्गीतका अभियान्ताहरुले गन्धर्व संस्कृति संरक्षणमा लागिरहेको तेजेन्द्रलाई साथ सहयोग गरेर अघि बढाउँदा नेपाली गीत सङ्गीतमै टेवा पुग्ने देखिन्छ । त्यसैले तेजेन्द्र गन्धर्वको अभियानलाई अलिकति भए पनि हामीले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने देखिन्छ ।