धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र सङ्खुवासभामा १ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको गौरादहमा ४, अर्जुनधारा, कनकाई, भद्रपुर र बिर्तामोडमा ३-३, दमक र मेचीनगरमा २-२, मोरङको विराटनगरमा ७, सुन्दरहरैचामा २, बुढीगंगा, ग्रामथान, लेटाङ र उर्लाबारीमा १-१, सुनसरीको इटहरीमा ८, रामधुनी र इनरुवामा २-२ र सङ्खुवासभाको खाँदबारीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४१ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।