धरान : स्वास्थ्य राज्य मन्त्री भवानी खापुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बेथितिले चुर्लुम्म डुबेको भन्ने कुरामा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

आज गृह जिल्ला तेह्रथुम जानेक्रममा धरान उपमहानगरपालिकाको सभा हलमा भएको भेटघाट कार्यक्रममा आफू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथितिले गाजेको सुन्दै आएको र स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय छानबिन समिति बनेकोले चाडै प्रतिष्ठान समस्या मुक्त हुने बताए । उच्चस्तरीय छानबिन समितिले छानबिन गरिरहेको अवस्थामा बीपीको बारेमा थप आफूले केही प्रतिक्रिया दिन नमिल्ने बताए ।

तर बीपीको समस्या सरकारले चाडै समाधान गर्ने बताउँदै मन्त्री खापुङले भने पहिले पनि नमुना थियो अव फेरि पनि प्रतिष्ठान नमुना बन्नेछ ।

धरान आफूले २०३९ साल देखि जानेको र परिचित रहेको बताउँदै महेन्द्र बहुमुखी क्याम्पसमै पढेको समेत बताए । मन्त्री खापुङले भने अव सरकारले दलीय भागबण्डमा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति हुँदैन, योग्य र सक्षम व्यक्ति नियुक्ति हुने दाबी गरे ।

मन्त्रीसँगको भेटघाट कार्यक्रममा धरान काठमाडौँ सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले बीपीको सुधारका लागि सरकार लागि पर्नुपर्ने बताए । धरान नागरिक दबाब समूहका हरिप्रसाद दाहालले बीपीको बेथिति नियन्त्रण गरेर पहिले नमुना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेरि पनि नमुना बनाउनुपर्ने सरकारसँग आग्रह गरे ।

कार्यक्रममा हर्क साम्पाङले बीपीमा बिरामी बोक्ने व्हील चियर र स्ट्रेचर अभावमा उपचारमा आउने बिरामीलाई बोकेर उपचार कक्ष सम्म लानुपर्ने समस्या रहेको बताए । अझ इमरजेन्सी वार्डमा बेड अभावको कारण बिरामीलाई भुईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताउँदै राईले यो समस्याको समाधान सङ्घीय सरकारबाट गर्न समेत मन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका धरान नगर अध्यक्ष ताजुब लिम्बुले धरानका नागरिकलाई कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन मन्त्री समक्ष माग गरे । धरान पूर्वको ट्रान्जिट प्वाइन्ट रहेकोले यहाँ कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराई कोरोना सङ्क्रमण नियन्त्रणमा पहल गर्न माग गरे ।
मन्त्री खापुङ आजै गृह जिल्ला तेह्रथुम प्रस्थान गरेका छन् । उनले आजै कोशी अस्पतालको पनि अवलोकन गरेका थिए ।