विराटनगर :  प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेशवासीलाई प्रदेश सरकारको अनुभूति दिलाउन एकद्वार प्रणालीबाट सेवा दिन खोजिएको बताएका छन् ।

जिल्ला-जिल्लामा एकीकृत सेवा हुँदा प्रदेशवासीलाई नै सहज हुने उनले बताए । विराटनगरमा प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा मन्त्री साम्सोहाङले सो कुरा बताएका हुन् ।

उनले भने,‘ बाहिर हल्ला गरेजस्तो स्वास्थ्यको जिल्ला कार्यालय नै नरहने, स्वास्थ्यका हाकिम नै हुन नपाइने भन्ने हैन ।’ प्रदेश सरकारको २०७८-७९ को नीति तथा कार्यक्रम र प्रदेश सरकारको २०७८-७९ को बजेट वक्तव्य अनुसारले नै प्रदेश सरकारले कार्य अघि बढाएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईले प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार नै एकद्वार प्रणालीबाट सेवा दिने तयारी थालिएको बताए । उनले प्रतिवेदन अध्ययन गरेर मात्रै धारणा बनाउन पनि आग्रह गरे ।

जनस्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सदस्य कैलाशखाकी श्रेष्ठले प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालयको माग राखिरहेको समयमा स्वास्थ्य सेवाको परिकल्पना भन्दा बाहिर गएर सङ्गठन संरचना तयार गर्न खोजिएको बताए ।

उनले एकद्वार प्रणालीबाट सेवा दिने प्रदेश सरकारको तयारीको विरोध जनाए । उनले तत्काल स्वास्थ्य मन्त्रालय बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । तीन दिने समीक्षामा स्वास्थ्यकर्मीहरुले एकीकृत सेवा प्रणालीबारे ठोस धारणा तय गर्नुपर्ने श्रेष्ठको भनाई छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा. मदन उपाध्याय, प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेत, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँ लगायतले बोलेका थिए ।

Gosthi