विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

बैठकमा मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने प्रतिपक्षी गठबन्धनले निर्णय गरिसकेको छ । गठबन्धन एक ठाउँमा उभिएको अवस्थामा आचार्यले विश्वासको मत पाउँदैनन् ।

प्रदेशसभामा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्तापक्षसँग सभामुखसहित ४१ जना सांसद छन् । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईका अनुसार गठबन्धनका ५० सांसदले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्नेछन् । उनका अनुसार नयाँ सरकार गठनका लागि आजै ५० जना सांसदको हस्ताक्षर सङ्कलन गरिनेछ ।

गठबन्धन भित्र तत्काल मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने र राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने निर्णय भए पनि मन्त्रालय बाडफाडको विषयमा टुङ्गो लागेको छैन ।

नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि मन्त्रालय बाडफाडका विषयमा छलफल हुने नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिने तयारी गरेका छन् । नेकपा एमालेका एक सांसदका अनुसार बैठकअघि वा बैठकबाट राजीनामा दिने सम्भावना छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि अन्तिम समयमा राजीनामा दिएपछि मतदान भएन । प्रदेश १ मा पनि विश्वासको मत पाउने सम्भावना नरहेकाले राजीनामा दिने सम्भावना रहेको ती नेताको भनाई छ ।