धरान : यही कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ मा नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीले स्वयं सेवक परिचालन गर्ने भएको छ ।

सुनसरीको जनगणनाबाट सही र सत्य तथ्याङ्क सङ्कलन गर्न सहयोग र सहजीकरण गर्ने उद्देश्यले समुदायगत रूपमै स्वयंसेवक परिचालन गर्न लागेको महासङ्घ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले बताए ।

जिल्ला जनगणना कार्यालय सुनसरी (क) अन्तर्गतका गणकहरूका लागि धरानमा सञ्चालित जनगणना सम्बन्धी प्रशिक्षण कार्यक्रममा महासङ्घका अगुवा प्रतिनिधिहरूले स्वयंसेवक परिचालन सम्बन्धी जानकारी गराएका छन् ।

उनीहरूले जनगणना सम्बन्धी प्रश्नावलीमा कतिपय आदिवासी जनजातिका जात, भाषा र धर्म जस्ता विषयहरूको कोड नै उल्लेख नगरिएको भन्दै यसबाट वास्तविक तथ्याङ्क आउन नसक्ने र त्यस्ता जाति समुदायको पहिचान र अस्तित्व नै सङ्कटमा पर्ने देखिएको भन्दै आगामी जनगणनाहरूमा प्रश्नावली तयार गर्दा सम्बन्धित सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

आदिवासी जनजातिहरू प्रायले नाम थर, मातृ एवम् पुर्खौली भाषा र मौलिक एवम् परम्परागत धर्म भन्ने गरेको पाइएता पनि प्रश्नावलीमा थर, पुर्खौली भाषा र मौलिक धर्महरू सबैको कोड उल्लेख नगरिएकाले सोझै अन्य जाति, भाषा र धर्म भनी विवरण सङ्कलन हुने अवस्था देखिएकाले त्यस्तो अवस्थामा गणकले स्वविवेक (कमनसेन्स) प्रयोग गर्न तथा स्वयंसेवकहरूको मद्दत लिन उनीहरूले आग्रह गरेका छन् ।

जनगणनाको क्रममा कोडमा उल्लेख नगरिएका जाति, भाषा र धर्म पाइएमा त्यस्तो अवस्थामा अन्यको महलमा टिक लगाउने भनिएको भए पनि आगामी जनगणनामा प्रश्नावली तयार गर्न र सुधार गर्न मद्दत पुग्ने भन्दै टिक लगाउनुको अतिरिक्त घर मुलीले भनेका जाति, भाषा र धर्म समेत टिपोट गरिदिन तथा खुलाइदिन उनीहरूले आग्रह गरेका छन् ।

अध्यक्ष राईको नेतृत्वको प्रतिनिधि टोलीमा महासङ्घका सल्लाहकार एवम् पूर्व अध्यक्ष सुजेन्द्र गोले तामाङ, जिल्ला उपाध्यक्ष गेल्वु शेर्पा, नगर सचिव हेमराज याक्खा लगायत थिए भने कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र पत्रकार विकास चाम्लिङ राईको समेत उपस्थिति रहेको थियो ।