इटहरी : सेन्टर फर मिडिया रिसर्च (सिएमआर)को अध्यक्षमा तृष्णा आचार्य चयन भएकी छिन् ।

इटहरीको जनता बहुमुखी कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्यापनमा संलग्न उनी आइतबार अध्यक्ष चयन भएकी हुन् ।

संस्थाको नवौँ साधारण सभाबाट आचार्यलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो । काठमाण्डौमा आयोजित कार्यक्रममा उनी दुईबर्षको लागी अध्यक्ष भएकी हुन् । दिव्यभूमि बहुमुखी कलेजमा पत्रकारिता तथा आमसञ्चार विभागकी प्रमुख भइसकेकी आचार्य पछिल्लो समय जनता बहुमुखी क्याम्पसकी प्राध्यापक हुन् ।

आचार्य अध्यक्ष रहेको कार्यसमितिको उपाध्यक्षमा दीपक अर्याल, सचिवमा नवीन खतिवडा, कोषाध्यक्षमा श्रुति श्रेष्ठ चयन भएका छन् । त्यस्तै कञ्चन अधिकारी, हिमेशरत्न बज्राचार्य र सुनिता कार्कीलाई कार्यसमिति सदस्यमा चयन गरिएको छ ।

सिएमआर नेपालले ४ वर्षदेखि ३ वटा आयोजनासहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यसले मिडिया नीति समीक्षा र वकालत गतिविधि, पत्रकारको क्षमता अभिवृद्धि र डिजिटल मिडिया सम्बन्धित मामिला आदिमा काम गर्ने गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव पवन आचार्यले नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै नेपाली पत्रकारिताको उत्थानका लागि अनुसन्धानको दायरा बढाउनुपर्ने बताए । अनुसन्धानमा आधारित पत्रकारिता र मिडियासँग सम्बन्धित संस्थाबिच सहकार्य जरुरी रहेको उनको भनाई छ ।

सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले आगामी योजना र गतिविधिबारे जानकारी गराएका छन् । उनले कोभिड–१९ को सङ्कट र पत्रकारितामा परेको असरबिच पनि संस्थाले आवश्यकताका आधारमा कार्यक्रम तथा गतिविधिमा केन्द्रित हुने जानकारी दिएका छन् ।