धरान : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले अङ्क गणित नमिलेको भन्दै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभालाई सम्बोधनको क्रममा आफूले मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नो कार्यकाल अवधिभरका कामको बारेमा चर्चा गर्दै अङ्कगणित नमिलेकोले राजीनामा दिने घोषणा गरेपछि सभामुख प्रदीप भण्डारीले पनि विश्वासको मतको प्रक्रिया अघि नबढेको घोषणा गरे ।

मुख्यमन्त्री नियुक्ति देखिनै अल्पमतमा परेका भीम आचार्यले निकै रस्साकस्सी पछि आज प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेपछि अर्को प्रदेशसभाको बैठक आगामी कार्तिक २३ गते मंगलबार दिउसो १ बजे सम्मका लागि स्थगित भएको सभामुख भण्डारीले घोषणा गरेका छन् । मुख्यमन्त्री भीम आचार्य अहिले आफ्नो राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय जादैछन् ।

मुख्यमन्त्री आचार्यले आफ्नो सम्बोधनको क्रममा दलहरू मिलेर अघि बढ्नुपर्ने बताए । कामको चापले पहिल्यै विश्वासको मत लिन नपाएको भन्दै उनले भने, ’अर्ति उपदेश र जुवारी जरुरी छैन, लडाई झगडा गरेर प्राप्त गर्ने कुरा छैन ।’

उनले कामको आधारमा सरकार अघि जानुपर्ने बताए । टुटफुट भएर अगाडि जान खोज्नु लोकतान्त्रिक प्रणालीभित्र नपर्ने उनको दाबी छ । आफूले राजनीतिक अस्थिरताका बाबजुद पनि अघिल्लो सरकारले अघि बढाएका कामलाई निरन्तरता दिएको बताए । आफू प्रदेश बलियो बनाउने काममै लागेको बताए ।