धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नेपाल पत्रकार महासङ्घ सुनसरीको भवनमा थप कामको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

सोमबार धरान उपमहानगरपालिकाले आयोजना गरेको सञ्चारकर्मीहरूसँग भेटघाट तथा शुभकामना कार्यक्रममा मेयर राईले यस्तो घोषणा गरेका हुन् । मेयर राईले दशै, तिहार, छठ पर्वको शुभकामना दिँदै चाड पर्वको अवसरमा सञ्चाकर्मीहरुसँग भेटघाट गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए ।

श्रमजीवी पत्रकारहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी र सञ्चार संस्थाहरूलाई सहयोग गर्ने विषयमा तिहारपछि छलफल गर्ने मेयर राईको भनाई थियो । मेयर राईले कार्यक्रममा उपमहानगरपालिकाले गरेका गतिविधिहरू उपमहानगरपालिकाको वेबसाइटमा अपडेटिङ गर्न पनि सूचना शाखालाई निर्देशन दिए ।

धरान उपमहानगरपालिकाले पहिलो पटक चाड पर्वमा सञ्चारकर्मीसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेको हो । यसअघि धरान उपमहानगरपालिकामा यस्तो परम्परा थिएन ।

कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष सन्तोष काफ्ले, खेलकुद पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष रत्न आचार्य, फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष विकास चाम्लिङ, महिला पत्रकार गङ्गा बराल र डव्लु डव्लु जे सुनसरीका अध्यक्ष मनिता चाम्लिङ लगायत पत्रकारहरूले धन्यवाद प्रकट गरेका थिए ।