विराटनगर : नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मंगलबार प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दै छन् ।

प्रदेश सरकारमा अल्पमतमा परेपछि एमालेका भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज मंगलबार दिउँसो १ बजे सम्ममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न समय दिएका थिए ।

प्रदेश प्रमुख अधिकारीबाट नयाँ सरकारका लागि आह्वान भए लगत्तै विपक्षी गठबन्धनले ४९ सांसदको हस्ताक्षर सहित समाजवादीका राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै दाबी पेस गरेको थियो ।

प्रदेश प्रमुख अधिकारीले मंगलबार २ बजे मुख्यमन्त्रीको शपथ ग्रहणको समय तय गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै राईले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।

हालका ६ मन्त्रालयलाई विभाजन गरेर मन्त्रालयको सङ्ख्या बढाइने भएको छ । मन्त्रालयको सङ्ख्या बढाउनुको विकल्प नभएको गठबन्धन दलका नेताहरूले बताएका छन् । गठबन्धन दलहरूको बैठक अहिले बिहान ९ बजे बस्दै छ । बैठकले सरकारमा सहभागी मन्त्रीहरूको नाम र मन्त्रालय तय गर्ने बताइएको छ ।