विराटनगर : प्रदेश १ को मुख्यमन्त्री फेरि दोस्रो पटक पनि भोजपुरले पाउने भएको छ । भोजपुरका राजेन्द्र राई प्रदेश १ सरकारको तेस्रो मुख्यमन्त्री आज बन्दैछन् ।

तत्कालीन नेकपा एमालेबाट भोजपुर निर्वाचन क्षेत्र नं १ बाट राई निर्वाचित भएका थिए । गत भदौमा नेकपा एमाले विभाजन भएपछि एकीकृत समाजवादी रोजेका राई गठबन्धन दलबाट मुख्यमन्त्री बन्न लागेका हुन । २०७४ फागुनमा भोजपुरका शेरधन राई पहिलो मुख्यमन्त्री भएका थिए ।

को हुन राई ?
४१ वर्षीय राई एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको पूर्व अध्यक्ष हुन् । उनी ०५६ मा अखिलको अध्यक्ष भएका थिए । भोजपुरको षडानन्द नगरपालिका १० का उनी विद्यालय तहबाटै राजनीतिमा लागेका हुन् ।

प्रारम्भिक कमिटीको सचिव हुँदै केन्द्रीय अध्यक्ष सम्म भएका उनी विद्यार्थी सङ्गठनमा रहेर २० वर्ष राजनीति गरे । रत्नराज्य क्याम्पस काठमाण्डौंको स्ववियु सभापति समेत बने ।

विद्यार्थी सङ्गठन छाडेर उनले काठमाण्डौं जिल्ला कमिटीबाट पार्टी राजनीति सुरु गरे । एमालेको आठौँ महाधिवेशन र नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका राई पार्टी विभाजन पछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवको भूमिकामा छन् ।

माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमा राजनीतिक सल्लाहकार भएका उनी हालै समाजवादी संसदीय दलको नेतामा चुनिएका थिए ।

पञ्चायत विरुद्ध लागेको भन्दै राई ७ महिना जेल परे । राई तत्कालीन राजा ज्ञानेन्द्र शाह विरुद्धको आन्दोलनमा ४ महिना बन्दी हुन पुगे । राईलाई २०६० मा माओवादीले अपहरण गरेर एक साता राखेको थियो ।
राजनीति शास्त्रमा स्नातकोत्तर गरेका राईका ‘विचारको खेती’ र ‘आयु’ नामक दुई पुस्तक प्रकाशित छन् ।