झापा : नेपाली काँग्रेस दमक ५ नम्बर वडा समितिले मंगलबार शुभ दीपावली पर्वको अवसर पारेर सांस्कृतिक देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।

नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारको अवसरमा खेलिने देउसी र भैलो खेललाई संरक्षण संवर्द्धन गर्दै सामूहिक रूपमा कार्यक्रम गरिएको वडा सभापति चैतन्य बरालले जानकारी दिए।

नेपाली काँग्रेस नगर पार्टी कार्यालयको प्राङ्गणमा भएको कार्यक्रममा झापा क्षेत्र नम्बर ५ का काँग्रेस नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सेल रोटी समेत पकाइएको र नेता कार्यकर्ताहरूले सेल रोटी खाँदै देउसी भैलोमा नाचगान गर्दै रमाइलो गरेको काँग्रेस वडा उपसभापति सन्तोष गौतमले जानकारी दिए।

नेपाली काँग्रेस दमक नगर समितिको समन्वयमा भएको कार्यक्रममा काँग्रेस नगरसभापति प्रकाश प्रसाईँले यस्ता सांस्कृतिक कार्यक्रमले पार्टीका नेता कार्यकर्ताहरू बिचमा आपसी सद्भाव बढाउने काम गर्ने बताए।

कार्यक्रममा पार्टीको आसन्न १४ औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले क्षेत्रीय प्रतिनिधिहरू समक्ष मत समेत मागेका थिए। मंगलबार नै नेपाली काँग्रेस वडा नम्बर २ ले समेत तिहारको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको काँग्रेस वडा सभापति भागवत दुलालले जानकारी दिए।