विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३६५ जनाको पीसीआर परीक्षण गर्दा ७५ र ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६, सुनसरीमा १७, धनकुटा र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण भएको हो ।

झापाको बिर्तामोडमा ८, मेचीनगर र दमकमा ६-६, बुद्धशान्तिमा ४, कनकाईमा २, अर्जुनधारा र शिवसताक्षीमा १-१, मोरङको विराटनगरमा २०, बेलबारीमा ३, उर्लाबारीमा २, सुन्दरहरैचामा १, सुनसरीको इटहरीमा ११, धरानमा ५, रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको चौदण्डीगढीमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५१ महिला र ५७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।