विराटनगर : सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि विराटनगरको नियमित उडान भर्ने भएको छ।

अन्तर प्रदेश उडानका लागि नेपाल सरकारले अगाडि सारेको नीतिलाई पहिलो प्राथमिकता दिँदै आगामी कात्तिक २२ गतेदेखि सौर्य एयरलाइन्सले बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत विराटनगर-भैरहवा-विराटनगर सिधा उडान प्रारम्भ गर्ने एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा हाललाई दैनिक एक-एक उडान सञ्चालन गर्ने र आवश्यकता र यात्रुको मागलाई दृष्टिगत गरी उडान थप गर्न सकिने अध्यक्ष पोखरेलको भनाइ छ।एयरलाइन्सले यो रुटका लागि एकतर्फी हवाई भाडा छ हजार रुपैयाँ निर्धारण गरेको पोखरेलले जानकारी दिए।

सौर्य एयरलाइन्सले विराटनगरदेखि भैरहवासम्मको सिधा उडान गरेपछि घण्टौँको यात्रा मिनेटमा गर्न सकिनेछ। भैरहवादेखि विराटनगर र विराटनगरदेखि भैरहवाको नियमित उडानले भगवान् गौतम बुद्धको जन्मभूमिसमेत रहेको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीको भ्रमणमा आउने जाने तथा सो क्षेत्रबाट हवाई मार्ग भएर विराटनगर लगायत पूर्वी नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रमा आउन जाने यात्रुहरूको यात्रा सहज एवं सरल हुने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए।

स्थलमार्गबाट विराटनगरदेखि भैरहवासम्मको ४९६ किलोमिटर दुरी तय गर्न करिब पन्ध्र घण्टा लाग्नेमा सौर्यको जेट जहाजबाट केवल ५३ मिनेटमै यात्रा तय गर्न सकिने समेत एयरलाइन्सले जनाएको छ । यो रुटमा उडान सञ्चालन भएपछि अन्तर प्रदेश पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

हाल सौर्य एयरलाइन्सले तीन वटा जहाजमार्फत दैनिक विराटनगर काठमाडौँ, भद्रपुर काठमाडौँ ,भैरहवा काठमाडौँ ,धनगढी काठमाडौँ लगायतका रुटका लागि एक दर्जन उडान भर्दै आएको छ । सौर्यले चाँडै नै नेपालगन्जदेखि भद्रपुर र राजविराजदेखि काठमाडौँको उडान भर्ने योजना बनाएको बताइएको छ ।