धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले श्री सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरूसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेका छन् ।

शुक्रवार मेयर राईले धरान वडा नं. ३ स्थित बाल आश्रम मै पुगेर आश्रित बालबालिकाहरूलाई भेटेका हुन् । आश्रित बालबालिकाहरूसँग मेयर राईले आफ्नो अनुभवहरू साटासाट गरेका थिए । बालबालिकाहरूले मेयर राईलाई कात्तिक २२ गते शैक्षिक भ्रमणमा जाने जानकारी गराएका थिए ।

मेयर राईले तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना दिदैं बालबालिकाहरूलाई अध्ययनमा निरन्तरता दिन आग्रह गरे ।

शैक्षिक भ्रमणमा जाँदा एक/एक वटा नोट बुक बोकेर रिपोर्ट गर्न पनि आग्रह गरे । मेयर राईले आगामी दिनमा आश्रममा रहेका बालबालिकाका लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

आश्रमका पूर्व अध्यक्ष एवं धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास वनेपालीले आश्रममा आश्रित बालबालिकाहरूको शैक्षिक भ्रमणका लागि मेयर राईले ४० हजार रुपैयाँ प्रदान गरेको जानकारी दिए ।

उनले कात्तिक २२ गते देखि २८ गतेसम्म पोखरा, लुम्बिनी, पाल्पा लगायतको स्थानमा शैक्षिक भ्रमणमा जाने जानकारी दिए । उनले भने, ‘जनतासँग मेयर कार्यक्रम भने जस्तै आश्रमका बालबालिकाहरूसँग मेयर कार्यक्रम गर्ने भनेर दशै अगाडी देखि नै कोसिस गरेका थियौँ ।

तर, भाइटिकाको पूर्व सन्ध्यामा भेटघाट तथा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम जर्यो ।’ भेटघाट कार्यक्रममा आश्रित बालबालिकाहरूले गायन, नृत्य, बिट बक्स जस्ता प्रतिभाहरू प्रस्तुत गर्नुका साथै देउसी समेत खेलेका थिए । बालबालिकाहरूलाई दक्षिणा स्वरूप मेयर राईले ३ हजार रुपैयाँ दिएका थिए ।