इटहरी : नेकपा एमाले सुनसरीको अधिवेशन रमेश बस्नेतको संयोजकत्वमा हुने भएको छ । २०७५ जेठ दुई अघिका अध्यक्ष बस्नेतकै संयोजकत्वमा अधिवेशन गर्ने निर्णय भएको हो ।

विवाद समाधानको लागि गत भदौ १० गते बसेको केन्द्रीय कमिटीको बैठकले बनाएको सहजीकरण कार्यदलले बस्नेतको नेतृत्वका अधिवेशन गर्ने निर्णय गरेको हो । कार्यदलका संयोजक सुवास नेम्वाङ र सदस्य भीम आचार्यले संयुक्त रूपमा बस्नेतको नाममा निर्णय कार्यान्वयन गर्ने पत्र पठाएका छन् । कार्त्तिक ८ गते बस्नेतको नाममा आएको पत्रमा सङ्गठनात्मक तथा अन्य कार्योजना बनाउन निर्देशन दिइएको हो ।

यसअघि बस्नेत र रेवतीरमण भण्डारीले नेतृत्व गरेको दुई वटा कमिटी चलायमान छ । भर्खरै सम्पन्न पालिका अधिवेशनमा भण्डारी नेतृत्वको कमिटीले नेतृत्व गरेको थियो । अहिले एमालेमा कुनै गुट नभएको देखाउन खोजे पनि लामो समयदेखि सुनसरीमा लामो समयदेखि विवाद कायम छ।

नेम्वाङ संयोजक रहेको कार्यदलले बस्नेतको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी बनाउने नेकपा एमालेले निर्णय गरेको हो । पत्रअनुसार आयोजक कमिटीको सह संयोजकमा नन्द कुमार बस्नेत र निलम खनाल, सचिवमा पशुराम यादव र उप सचिवमा लिलम बस्नेत रहनेछन् । यस्तै सदस्यमा दुवै जिल्ला कमिटीका सदस्यहरू रहने उल्लेख गरिएको छ ।

आगामी पौष मसान्तभित्र जिल्ला अधिवेशन आयोजना गर्न निर्देशन दिइएको पत्रमा आगामी अधिवेशन बस्नेतले नै नेतृत्व गर्नुपर्ने भएको छ । उता भण्डारी नेतृत्वको कमिटीले यसअघि नै केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति तय गरेको छ । कार्त्तिक २७ गते निर्वाचन हुने गरी बुधवार कार्य तालीका सार्वजनिक गरेको हो ।

नेम्वाङ र भीम आचार्यले हस्ताक्षर गरेको पत्रमा मातहतका कमिटीहरू मिलाउँदा आउने अन्य समस्या समाधानको लागि सुनसरी इन्चार्ज धर्मराज निरौला संयोजक रहने व्यवस्था गरेको छ । त्यस्तै भगवती चौधरी, जगदीश कुसियैत, तैयव हुसेन, रेवती भण्डारी, रमेश बस्नेत र मुरारी सुवेदी सदस्य रहेको कार्यदल बनाइएको छ ।

एमालेमा विभाजन ल्याउन विभिन्न तत्त्व लागी परेकाले त्यसलाई रोक्न निर्देशन दिइएको प्रदेश १ इन्चार्ज आचार्यले बताए । एमाले एकताको सन्देश दिनको लागी पत्र मार्फत निर्देश गरिएको उनको भनाई छ ।

उता एमाले अध्यक्ष भण्डारीले महाधिवेशन प्रतिनिधिको निर्वाचन मिति तोकिएकोले आफ्नै नेतृत्वको प्रतिनिधि छनौट हुने बताए । अहिले आएको पत्रको बारेमा आफू बेखबर रहेकाले २७ गतेको निर्वाचन पछि मात्र केही सोच्न सकिने उनको भनाई छ।

letter-12345678