यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जनाएको छ ।

परापूर्वकालमा यमराजकी बहिनी यमुनाले यसै दिन आफ्नो आफ्नो दाजु यमराजलाई भाइटिका लगाइ दिएको कथन छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्ने हुनाले यी पाँच दिन सम्म यमराज यमपुरीमा नहुने र यस समयमा मृत्यु प्राप्त गरेका आत्माहरू सीधै स्वर्ग जान्छन् भन्ने धार्मिक मान्यता रहेको छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गरी, यमराजको आह्वान गर्ने र बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबो, टीका, कटुस आदिको प्रयोग गरी अष्ट चिरञ्जीवीको पूजा सहित भाईपुजा गरे सुख-समृद्धि, आरोग्य एवं दीर्घायु प्राप्त हुने विश्वास छ।

लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा यस पर्वलाई लिइन्छ । दिदीबहिनीले काग तिहार कै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन छ। भाइटिकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने जनविश्वास छ।

टीकाको दिन बिहानै नुहाएर अष्ट चिरञ्जीवीको अर्थात् अश्वत्थामा हनुमान्, विभीषण, परशुराम, मार्कण्डेय, बलि,व्यास कृपाचार्य पूजा गर्नु पर्दछ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्न पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई घेरा हाल्नु पर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ। भाइटिकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको पनि छुट्टै महत्त्व रहेको छ।

मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधैँ हरियै रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन्। सप्तरङ्गी टीकामा भावनाको मेल हुँदा शान्तिको बर्सात हुन्छ र दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ। टिका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् । तिहारमा लगाइने टीका सात रङ्गका हुन्छन्, पहेँलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो यी सात रङ्गका टीकालाई सप्तरङ्गी भनिन्छ। सतरङ्गी टीकालाई निधारमा उर्द्ध आकार रेखामा सिधा लगाइन्छ।