सङ्खुवासभा : सङ्खुवासभाको सभापोखरी गाउँपालिका-६ पात्ले दह स्थित सभाखोलाले बगाएका दुई बालक मध्ये एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। सँगै खोलो बगाएको अर्का बालक अझै बेपत्ता छन्।

मृत्यु हुनेमा सोही स्थानका भक्त बहादुर बिकका ९ वर्षीय छोरा बिपन बिक रहेका छन् भने उनकै घरमा पाहुना आएका सभापोखरी गाउँपालिका १ का रहि बहादुर बिकको ८ वर्षीय छोरा रैतिन बिक बेपत्ता भएका छन् ।

आज शनिवार दिउसो १ बजे उनीहरूलाई नुहाउने क्रममा खोलाले बगाएको थियो । घटनाको जानकारी पाएको प्रहरी चौकी बाह्रबिसेको प्रहरी टोली खटी मृतक बिपनलाई बगाएको स्थानबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला पारिएको थियो।

बेपत्ता भएका अर्का बालक रैतिनको खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ।