धरान : भाइटिकाको दिन बेलुका मोरङ, झापा र उदयपुरमा भएका छुट्टाछुट्टै भएको सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् ।

शनिवार बेलुका ६ बजे मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १० च ४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल सवार तिन जना मध्ये दुई जनाको घटनास्थलमा नै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका-२ का ३० वर्षीय कमल कार्की र पछाडि सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलक बहादुर सुबेदीको घटनास्थलमा मृत्यु भएको हो भने पछाडि सवार लेटाङ नगरपालिका-२ कि ४५ बर्षीया सिता कार्कीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा हिजो बेलुका सवा ७ बजे मृत्यु भएको हो । गाडी र गाडी चालक लेटाङ नगरपालिका-२ का ४७ वर्षीय पुष्प बहादुर मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

शनिवार नै बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका-६ टकुवा–पिपल चौक भित्री सडक खण्डमा साइकल यात्री मोरङ सुनवर्षी नगरपालिका-६ पटियापाडा का ३० वर्षीय सत्रुघन साहको साइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भई उपचारको लागी रंगेली अस्पताल लानै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी शनिवार बेलुका ६ बजे उदयपुरको त्रियुगा नगरपालिका-११ मेन चोकमा पूर्व तर्फ जाँदै गरेको स १ ह १६२० नम्बरको अटो र पिपल चोकबाट पूर्व तर्फ जाँदै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार त्रियुगा नगरपालिका-११ का ८५ वर्षीय कुल प्रसाद भण्डारी रहेका छन् उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाइकल चालक सप्तरी कञ्चनपुर नगरपालिका-१२ का ५२ वर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका-७ का ४२ वर्षीय नर बहादुर कार्की सामान्य घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

यसै गरी शनिवार बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टी स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रङ्गको २२० सि सी पल्सर मोटरसाइकल र विपरीत दिशा तर्फ जाँदै गरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरमा सवार स्कुटर चालक मेची नगरपालिका-१० का ४२ वर्षीय डिल्ली कार्की, पछाडि सवार उनका छोरा १६ वर्षीय मनिस कार्की र अर्को मोटरसाइकल पछाडि सवार झापा हाल्दिबारी गाउँपालिका-२ का २१ वर्षीय पिजेश लामा घाइते भई उपचारको लागी विएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।

घाइते मध्ये स्कुटर पछाडि सवार रहेका एक जनाको राती ९ बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा संलग्न रहेको अर्को मोटरसाइकल चालक झापा हाल्दिबारी गाउँपालिका-२ का २५ वर्षीय उमेश लामा मोटरसाइकल सहित फरार रहेकाले खोज तलास भइरहेको छ ।

यस्तै शनिवार राती साढे ११ बजे झापा मेचीनगर नगरपालिका-१३ तेलिबारी स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको प्रदेश-१-०४-०१४ प. ३३४५ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका ४ जना घाइते भएका थिए।

घाइते हुनेहरूमा ३३४५ नम्बरको मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका-८ का २१ वर्षीय अनीश गिरी, पछाडि सवार सोही स्थानका १८ वर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ वर्षीय निकेश शिवकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका-८ का २१ वर्षीय प्रवीण मेचे रहेका छन् ।

घाइते मध्ये अभिषेक श्रेष्ठको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको छ भने बाकी ३ जना घाइतेहरूको सोही अस्पताल मानै उपचार भइरहेको छ।