दमक : झापाको दमक नगरपालिका स्थित शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर) मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् ।

कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्डस्टोेरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए । जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए ।

भण्डारण गरिएको सबै आलुका बोरा र चिस्यान केन्द्रको सम्पूर्ण सम्पत्तिको अजोड इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको अधिकारीले बताए । बिमा कम्पनीलाई तत्काल राहत उपलब्ध गराएर बीउ आलु खरिदका लागि किसानलाई सहजीकरण गरिदिन आग्रह गरिरहेको उनले जानकारी दिए ।

रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसानले सहकारी मार्फत चिस्यान केन्द्रमा प्रतिबोरा ४४५ तिरेर बीउ आलु राख्दै आएका थिए । बीउ आलु नै कुहिएपछि स्थानीय किसान समस्यामा परेका छन् । उनीहरूले चिस्यान केन्द्रमा कुप्री सिन्दुरे, लाकर, लाल गुलाब, सुलभ रातो, डेजिरे लगायत जातका बीउ आलु राखेका थिए ।