धरान : सुनसरी र ओखलढुङ्गामा भएका तीन छुट्टाछुट्टै घटनामा एक बालक सहित चार जनाको मृत्यु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारी चोक स्थित पूर्व–पश्चिम राजमार्गमा हिजो बिहान १० बजे बसको ठक्करबाट घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय अल्ताप मिया र पछाडि सवार ३० वर्षीय गियासुदिन मिया रहेका छन् । उनीहरूको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको थियो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १-०१-००१ ख ३५३० नम्बरको बसले विपरीत दिसा तर्फबाट आउँदै गरेको प्र.२-०१-००१प ०७६३ मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो ।

बस र बस चालक झापा कनकाई नगरपालिका-३ सुरुङ्गा का ५५ वर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यसैबिच सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने बलिन्द्र अधिकारीको ४ वर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबी मृत्यु भएको छ ।

हिजो बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाइते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

ओखलढुङ्गा मोलुङ गाउँपालिका-७ पात्ले खानिचौर २२ वर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ ।
हिजो दिउसो ११ बजे घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घाँस काट्न चढेकोमा उक्त रुखबाट लडी घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी श्रीचौर र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको छ ।