धरान : सुनसरीको कोशी गाउँपालिका-२ लौकहीमा मोटरसाइकलले ठक्कर दिँदा २ बर्षीया बालिकाको मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आउँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जाँदै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

अनियन्त्रित भएको मोटरसाइकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका-७ की १६ बर्षीया वर्षा साह र उनीसँगै रहेकी २ बर्षीया बालिका दीक्षा साहलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो भने घाइतेलाई थप उपचारको लागी विराटनगर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।