विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान फेर्ने काम गरेको आरोप लगाएका छन् ।

अदालतले संविधानको व्याख्या मात्रै गर्ने भए पनि संविधान नै फेर्ने काम गरेको उनको आरोप छ। अध्यक्ष ओलीले भने, 'अदालतको काम संविधान फेर्ने हैन, व्याख्या गर्ने हो।'

एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा अध्यक्ष ओलीले संविधानले राष्ट्रपतिलाई दिएको अधिकार खोसेर सर्वोच्चले आफै प्रयोग गरेको उनको भनाई छ।

राष्ट्रपतिको अधिकार खोसेर संसद्को ठुलो दलका नेतालाई प्रधानमन्त्रीको उम्मेदवार हुन नपाउने फैसला गर्दै परमादेशको सरकार बनाएको ओलीले बताए । उनले भने, 'प्रत्यक्षमा ८० सिट जित्नेलाई प्रधानमन्त्रीको उम्मेदवार नै हुन नपाउने तमासापूर्ण फैसला सर्वोच्चले गर्‍यो ।'

सर्वोच्च अदालतले संविधान भन्दा बाहिर गएर फैसला गरेको उनले बताए। अध्यक्ष ओलीले भने, 'अदालत स्वतन्त्र होस् भन्ने हामीले कामना गरे पनि अदालतको फैसला निष्पक्ष रहेन।' 'सर्वोच्चको फैसला अलोकतान्त्रिक, असंवैधानिक छ' उनले भने ।

परमादेशको सरकारको सेटिङ खुल्न थालेको उनले बताए । ओलीले भने,‘ मन्त्री, राजदूत बनाइदिने सेटिङ रहेछ, नदेखिएको धेरै कुराहरू अझै खुल्न बाँकी नै छ ।’ आफू विरुद्धको गठबन्धनलाई सर्वोच्चले मागेभन्दा पनि बढी दिएको उनले बताए । उनले भने,‘ गठबन्धनले दुनामा मागेका थिए, सर्वोच्चले टपरीमा दियो ।’ न्यायालयको गरिमा अन्याय सहेर बचाउन नसकिने ओलीले बताए ।

स्थानीय तहको निर्वाचनमा एमाले कोशीको भेल जस्तो भएर आउने उनले बताए । स्थानीय तहको निर्वाचनबाट देशको विकास गर्न नसक्ने प्रवृत्ति भएकाहरूलाई भेलले किनार लगाए जसरी किनार लगाइदिने उनले दाबी गरे । आगामी निर्वाचनमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हुन उनले बताए । अध्यक्ष ओलीले भने,‘ प्रतिस्पर्धा काँग्रेससँग हुन्छ, काँग्रेसका सेवक, ढोके, चम्चेहरुसँग हैन ।’

परमादेशको सरकारलाई आफूले चाहे एक सातामा ढालिदिने उनले विराटनगरमा पनि दोहोर्‍याए । उनले भने, 'लुतो लागेकाहरूको रौँ सबै झरोस् भनेर मात्र छाडेको।' ढालेर अपजस लिनुभन्दा १३ महिनापछि हुने निर्वाचनबाट देखाइदिने उनले चुनौती दिए ।

एमाले नेतृत्वको सरकार ढालेर मन्त्री बनेकाहरूलाई आगामी निर्वाचनमा जमानत जोगाएर देखाउन उनले चुनौती दिए । उनले भने,‘ एमालेले लगाइदिएको जुँगामा कहिले सम्म ताउ लाएर खान्छन् हेरौँ न ।’

Uml-BRT