विराटनगर : मोरङमा २९ जना सहित प्रदेश १ मा ५७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १६, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३-३, बेलबारीमा २, उर्लाबारी, सुनबर्षी, मिक्लाजुङ, केराबारी र रतुवामाईमा १-१, झापाको बिर्तामोड र दमकमा ४-४, अर्जुनधारा, बुद्धशान्ति, बाहृदशी, कनकाई र कमल गाउँपालिकामा १-१, सुनसरीको इनरुवामा ३, इटहरीमा २, दुहबी, देवानगञ्ज, हरिनगर र धरानमा १-१, उदयपुरको कटारी, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९ महिला र १८ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।