धरान : वैदिक सनातनी नेपालीहरू एवम् तराई मधेसमा विशेष रूपमा मनाइने छठ पर्वको आज दोस्रो दिन व्रतालुहरू ‘खरना’ मनाउने तयारीमा छन् ।
दिनभरि व्रत बसेर बेलुका नैवेद्य चढाएर सक्खर हालेर बनाइएको खीर, मुला, केरा खाने गरिन्छ, जसलाई ‘खरना’ भनिन्छ । चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको पूजा आराधना गरिन्छ । व्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् ।
आजको दिन भर व्रत बसेर व्रतालुहरू साँझमा एक छाक मात्र भोजन गर्दछन् । आज एक छाक मात्र भोजन गर्नुको कारण, छठको दिन अर्थात् भोलिपल्ट दिनभरि पानी समेत नपिई निराहार व्रतको पूर्वाभ्यास पनि हो ।
चार दिन सम्म मनाइने छठ पर्वको छठको पहिलो दिन–कार्तिक शुक्ल चतुर्थीलाई “नहाए खाय“ भनिन्छ । छठको दोस्रो दिन–कार्तिक शुक्ल पञ्चमीलाई खरना भनिन्छ । छठको तेस्रो दिन–कार्तिक शुक्ल षष्ठीलाई विशेष दिन “छठ“ भनिन्छ । छठको चौथो दिन–कार्तिक शुक्ल सप्तमीलाई “विहनीया अर्घ्य“ भनिन्छ ।
चार दिन सम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवी देउतालाई प्रसन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।
सृष्टिको आदि काल देखि नै यस जगतका प्रत्यक्ष देवता सूर्यनारायण भगवानको उपासना, आराधना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा षष्ठी व्रतको प्रसङ्ग उल्लेख गरिएको छ ।
द्वापर युगमा चौध वर्षको वनवास र एक वर्षको अज्ञात वास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवहरूले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौसल्याले पनि यो व्रत गरेको बताइन्छ । यो पर्व वर्षको दुई पटक मनाउने गरिन्छ ।
कात्तिक महिनामा मनाइने छठलाई ठुलो छठ भनिन्छ भने चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।