धरान : धरान उप-महानगरपालिका-१५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) लाई श्रीमानको कुटपिटबाट मृत्यु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान् ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाइते भएकी थिइन । घाइतेलाई केही दिन घरमै सामान्य उपचार गरी हिजो थप उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले महेन्द्र राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतकको शव पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ ।