विराटनगर : मोरङ कारागारमा चौकीदारको निर्देशनमा नाइके र भाईनाईकेहरुको यातना सहन नसकेपछि मंगलबार बिहान कारागार भित्रै झडप भएको छ ।

चौकीदार किरण गुरुङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेहरुले कैदीवन्दीहरुलाई कुटपिट गर्ने तथा यातना दिने एवं अत्याचार गर्ने गरेपछि कैदी बन्दी आन्दोलित बने । कैदीबन्दीहरु आन्दोलित बनेपछि कारागारका चौकीदार र नाइकेको समूहसँग अरू कैदीबन्दीवीच दोहोरो झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ ।

आन्दोलित बनेका कैदी बन्दीले गुरुङ सहित १४ जना कैदी बन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेर समेत राखिदिए । चौकीदार गुरुङ, नाइके र भाइ नाइके सहित पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मोक्तान, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राई समेतका कैदी बन्दीलाई एउटा कोठामा थुनेका हुन् ।

एउटा कोठामा थुनेर राखिएका कैदी बन्दीलाई प्रहरीले कारागारबाट बाहिर निकालेर राखेको छ । उनीहरूलाई बाहिर निकालिएपछि कारागारभित्रको तनाव अहिले केही मत्थर भएको छ । कैदी बन्दीको सुरक्षा र कारागारमा उत्पन्न तनाव अन्त्यका लागि १४ जनालाई नै अरू कारागारमा स्थानान्तरणको तयारी भइरहेको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए ।

झडपका कारण उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन कारागार आसपासमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

मंगलबार बिहान १० बजेतिर दुई पक्षबिच झडप हुँदा चौकीदार किरण गुरुङ सहित अरू कैदी बन्दी शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको निमित्त जेलर पोखरेलले बताए ।

कारागार भित्र मुढा बनाउने बाँसका भाटा लगायतको प्रयोग भएको पाइएको छ । घाइतेको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको पोखरेलले बताए ।