इटहरी : नेकपा एमाले सुनसरीको विवाद समाधान हुने भएको छ। विवादकै बिच पालिका अधिवेशन सम्पन्न गरेको एमालेले जिल्ला नेतृत्व परिवर्तन हुने भएपछि सहमति जुटेको हो।

तत्कालीन नेकपाबाट पुरानै  एमाले ब्युतीएपछि एमाले सुनसरीमाको विवाद बढेको थियो । एमाले ब्युतीएपछि माधव नेपाल समूह र अध्यक्ष केपी शर्मा ओली पक्षबिच विवाद बढ्दै गयो । नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेमै रहेका नेपाल समूहका नेताहरू समस्यामा परे ।

२०७५ जेठ २ अगाडीका अध्यक्ष रमेश बस्नेत नै नेतृत्व गर्न पाउनुपर्ने अडानले विवाद बढाएको हो। १० बूँदे सहमति गरेर एमाले एकताको सन्देश दिन खोजीएपनि अध्यक्ष ओलीले चयन गरेका रेवतीरमण भण्डारी अध्यक्ष भएको कमिटी सक्रिय भएपछि विवाद चुलिएको थियो । दुवै कमिटी सक्रिय भएर आ-आफ्नै हिसाबमा सङ्गठन बिस्तार गरेपछि सुनसरी एमाले गिजोलिएको थियो । एकले अर्कालाई अस्वीकार गर्ने अवस्था सृजना भएपछि पार्टी नेतृत्वलाई समस्या पर्दै आएको थियो ।

भण्डारी नेतृत्वको कमिटीले जेठ २ लाई मान्यता नदिएपछि बस्नेतको कमिटी छायामा परेको थियो । छायामा परेको बस्नेत समूहले धरान उपमहानगरपालिकामा समानान्तर कमिटी गठन गरेको छ । धरानका ६ र इनरुवामा १ वडामा छुट्टै कमिटी गठन गरेको बस्नेत समूह नयाँ सहमति मान्न बाध्य भएको छ ।

भण्डारीले बस्नेतलाई स्वीकार नगर्ने र बस्नेतले भण्डारीलाई मान्यता दिन नसक्दा तेस्रो व्यक्तिले सुनसरी एमालेको जिम्मेवारी पाउने भएका छन् । दुवै कमिटीलाई मिलाएर प्रदेश सदस्य खेमराज पोखरेलको संयोजकत्वमा गठन गर्ने सहमति भएको हो । केन्द्रीय कमिटीले गठन गरेको सहजीकरण कार्यदलको निर्णय अनुसार नयाँ कमिटी गठन हुने भएको हो । सुवासचन्द्र नेम्वाङ संयोजक र भीम आचार्य सदस्य रहेको कार्यदलले बिचको बाटो रोज्ने निर्णय गरेको हो ।

बुधवार दुवै कमिटीको बैठक बसी नयाँ कमिटी घोषणा गर्ने सहमति भएको छ । यसअघि सोही कार्यदलले बस्नेतको संयोजकत्वमा आगामी महाधिवेशन प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको थियो । त्यस अघि नै भण्डारी नेतृत्वको कमिटीले केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन कर्यातालीका सार्वजनिक गरेकाले विवाद हुनेभएपछि नयाँ बाटो अपनाइएको कार्यदल सदस्य आचार्यले बताए । उनका अनुसार विवादको विकल्प समाधान भएकाले पार्टीले सोही अनुसार निर्णय गरेको हो ।

ओलीले अध्यक्ष चयन गरेका रेवतीरमण भण्डारीले सहमति अनुसार अगाडी बढ्न तयार रहेको बताए । लामो समय देखीको कचकच राख्न नहुने भन्दै उनले सहमतीकोलागि मार्गप्रसस्त गरेको प्रस्ट पारे । उता बस्नेतले सहमतिको विषयमा आँफुलाई आधिकारिक जानकारी नभएको बताए । अधिकार सम्पन्न कार्यदलले निर्णय गरेको हुनसक्ने र सहमति हुन सकारात्मक भएको उनको भनाई छ ।