धरान : धरान उपमहानगरपालिकाले फोहोरमा लाग्ने आगलागी नियन्त्रणका लागि डम्पिङ साइड व्यवस्थित गर्ने भएको छ।

चारकोशे जङ्गलको डम्पिङ्ग साइडमा फालिएको फोहोरहरूमा तामा, फलाम लगायत धातुजन्य पदार्थ सङ्कलन गर्न आउने, कवाडी टिप्ने व्यक्तिहरूले फोहोरमा आगो लगाउने गरेको कारण वर्षेनि वातावरणीय समस्या उत्पन्न भइरहेको हुँदा धरान उपमहानगरपालिकाले यसको दीर्घकालीन समस्या समाधानका लागि नगरको फोहोरमैला व्यवस्थापन गर्न भेञ्चर वेस्ट टु ईनर्जि प्रा. लि.सँग सहकार्य गरी फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्रशोधन प्लान्टको धरान उपमहानगरपालिका वडा नं. ६ पानवारी स्थित निर्माण कार्य सम्पन्न भई उत्पादन परीक्षण पनि गरिसकिएको धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरेले बताए ।

भेञ्चर वेस्ट टु ईनर्जि कम्पनी प्रा. लि.ले आगामी २०७८ साल मङ्सिर भित्रमा फोहोरबाट ऊर्जा उत्पादन सुरु गरी उत्पादित ग्याँस बजारमा बेचबिखन गर्ने जानकारी गराएको उनले बताए । हाल डम्पिङ्ग साइडमा केही समस्या देखिएको सोको व्यवस्थापनका लागि र फोहोर जल्ने समस्या समाधान गर्ने कार्यमा धरान उपमहानगरपालिका लागि परिरहेको उनको भनाई छ । डम्पिङ साइडमा आगलागी हुँदा बेलाबेलामा वातावरणीय समस्या सिर्जना हुने गरेको र अब चाडै नै डम्पिङ साइड व्यवस्थित गरी दैनिक रूपमा फोहोर व्यवस्थापन गरिने धरान उपमहानगरपालिकाले जनाएको छ।

इटहरीको फोहोरमैला धरान उपमहानगरपालिका क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा फाल्ने गरिएको छ । विगत नौ महिना अघि धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहितको टोलीले खानेपानीको वेल हाउसमा स्थलगत निरीक्षण गर्ने क्रममा इटहरी उपमहानगरपालिकाले दिशाजन्य फोहोर धरान क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा फाल्ने गरेको फेला पारेका थिए।

तत्काल इटहरी उपमहानगरपालिकालाई बोलाएर फोहोरजन्य पदार्थ धरान क्षेत्रमा नफाल्न आग्रह गरेका थिए । अहिले पनि इटहरीले धरान क्षेत्रमा पर्ने चारकोशे जङ्गलभित्र नै फोहोरहरू डम्प गरिरहेको छ । सेउती पारी फालिएका फोहोरका कारण तल्लो भेगका सर्वसाधारण नागरिकहरूलाई समस्या उत्पन्न हुने गरेको छ । यस विषयमा इटहरी उपमहानगरपालिकासँग थप छलफल गरेर वातावरणीय समस्या समाधान गर्ने धरान उपमहानगरपालिकाले जनाएको छ।

phohor-5

Seutima-Dhuwa-4