धरान : दुमि किरात राई फन्सिकिमको २७ औँ जन्म दिवस तथा दुमि वंश भेला धरानमा सम्पन्न भएको छ ।

मङ्गलवार धरान १५ स्थित दुमि किरात राई फन्सिकिमको दुमकिम भवनमा २७ औँ जन्म दिवस तथा दुमि वंश भेला सम्पन्न भएको हो । दुमि किरात राई फन्सिकिमका केन्द्रीय अध्यक्ष डा. नेत्रमणि राईले दुमि किरात राईहरूको संस्थाको २७ औँ स्थापना दिवस यस वर्ष धरानमा मनाइएको जानकारी दिए ।

उनले सात सामेई, २१ पाछाका दुमिहरुको वंश भेला कार्यक्रम आयोजना गरिएको बताए । दुमि वंशको पहिचान र चिनजानको लागि प्रदेश १ को १४ वटा जिल्लामा रहेका दुमि राईहरू २७ औँ स्थापना दिवस तथा वंश भेलामा आएको उनले बताए ।

भेलामा दुमि राईहरूको बारेमा प्रकाशन गरिएको पुस्तक समेत सार्वजनिक गरिएको थियो । दुमि राईहरूमा ईसिलिमको लोगो भएको पुरुषले लगाउने टोपी (ताकी) र महिलाले लगाउने मजेत्रो (छाकानाम)को पनि प्रचार प्रसार गरिएको थियो ।

दुमि किरात राई फन्सिकिम सुनसरीकी अध्यक्ष कृपा दुमि राईले आफ्नो भाषा, संस्कार, संस्कृति लोप भइरहेको अवस्थामा यसको उत्थानको लागि दुमि राईहरूले हरेक वर्ष फरक फरक स्थानमा स्थापना दिवस र वंश भेला आयोजना गर्दै आइरहेको जानकारी दिइन् ।

उनले आजको भेलामा आउँदै गरेको १२ औँ राष्ट्रिय जनगणनाको बारेमा जनचेतनामूलक कार्यक्रम गरिएको बताइन् । भेलामा काठमाडौँसहित खोटाङ, उदयपुर, सोलुखुम्बु, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम लगायत जिल्लामा बसोबास गर्ने दुमि राईहरूको उपस्थिति रहेको थियो । उनीहरूले साकेला नाच समेत प्रदर्शन गरेका थिए ।

Dumi-Rai-2