इटहरी : नेकपा एमाले सुनसरीको विवाद अझै समाधान हुन सकेको छैन । २०७५ जेठ २ अगाडीको कमिटीलाई मान्यता दिन वा नदिने दुई समूह बिचको विवाद मिल्न नसकेको हो । दुवै समूहको सहमतिको लागी बुधवार इनरुवामा संयुक्त बैठक बोलाइएको छ।

जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र केन्द्रीय नेतृत्वले चयन गरेका अध्यक्ष रेवतीरमण भण्डारी दुवैले अध्यक्ष छाड्न सहमत भएका छन् । प्रदेश सदस्य खेमराज पोखरेललाई अध्यक्ष बनाउने दुवै पक्ष सहमत भएको हो ।
एमालेको जारी १० औँ महाधिवेशन अन्तरगत वडा र पालिका अधिवेशन सम्पन्न भएको छ। २७ गते हुन गइरहेको केन्द्रीय प्रतिनिधि छनौटमा कसले अध्यक्षता गर्ने भन्ने विषयमा विवाद बढेपछि सहमतिको प्रयास थालिएको छ। सोही बमोजिम आज इनरुवामा नयाँ अध्यक्ष बनाउने तयारी एमालेको छ । पोखरेललाई दुवै अध्यक्षले पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। सुनसरी इन्चार्ज तथा केन्द्रीय सदस्य धर्मराज निरौलाको अध्यक्षतामा बस्ने बैठकले नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको छ।

पार्टी विवाद मिल्नै लागेका बेला पूर्व अध्यक्ष द्वारिकलाल चौधरीले फेसबुक स्ट्याटस मार्फत पार्टी कार्यालयमा छुट्टै भेला हुने बताएका छन् । जिल्ला पार्टी कार्यालय इनरुवामा हुने बैठकको अध्यक्षता आफैले गर्ने बताएका हुन् । पार्टी नेतृत्वले भने सखुवागाछीको एक पार्टी प्यालेसमा कार्यक्रम तय गरे पनि उनले त्यसको प्रतिकार स्वरूप छुट्टै भेला आयोजना गर्न लागेका हुन।

यस अघि इटहरी उपमहानगरपालिकाको अधिवेशनमा पनि दुर्गा पार्टी प्यालेसमा छुट्टै भेला आयोजना गरेका थिए । पछि कार्यकर्ताले विरोध जनाएपछि उनी पछि हटे। छुट्टै उम्मेदवार उठाएका चौधरी अन्तिम समयमा मात्र सहमतिमा आएका थिए।

जेठ २ आगाडीका अध्यक्ष बस्नेतले आफू अध्यक्ष भएको दाबी गर्दै आएका छन् । उता पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएपछि झनै विवाद सुरु भएको थियो । नेकपा विभाजन भएर एमाले व्युतीएपछि को अध्यक्ष भन्ने विवाद चुलिन थालेको हो।

तत्कालीन अध्यक्ष चौधरीले राजीनामा दिएर इटहरी उपमहानगरपालिकाको मेयर भएपछि बस्नेतले कार्यबहाकको जिम्मेवारी पाएका थिए । पछि बस्नेतलाई तदर्थ समितिको अध्यक्ष बनाउने सहमति भएपछि उनले पार्टी नेतृत्व सम्हाल्दै आएका थिए ।