इटहरी : कार्तिक ३ गतेको बाढी र डुबानको कारण पीडित भएका परिवारलाई राहत उपलब्ध गराउन इटहरी काँग्रेसले अग्रसरतामा देखाएको छ। बुधवार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै राहत उपलब्ध गराउन आग्रह गरेको हो।

काँग्रेसले वर्षाको समयमा इटहरीले डुबान र बाढीको कारण मानवीय तथा भौतिक क्षति भोग्नु परेको स्मरण गराएको छ। कार्तिक ३ देखीको बेमौसमी वर्षाका कारण अनपेक्षित रूपमा विपद्को सामना गर्नुपरेको उल्लेख गरेको हो।

इटहरीमा पनि डुबानमा परी ४ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। प्राकृतिक विपतमा परेका नागरिकहरूका लागि प्रदेश १ सरकारले प्रदेश दैवी प्रकोप उद्धार समिति मार्फत राहत दिने घोषणा गरेको छ। सोही निर्णय अनुसार इटहरीका बाढी पीडितले राहत पाउनुपर्ने काँग्रेसको माग छ। अन्य भौतिक क्षतिको पनि राहत कार्यक्रम उपलब्ध गराउन ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ।

बाढी तथा डुबानमा भातृ सङ्गठन मार्फत उद्धारका कार्यमा खटिएको जानकारी गराउँदै राहतको लागि अपिल गरेको हो । स्थानीय काँग्रेसको प्रयासले मात्र डुबान तथा बाढिका कारण यहाँका जनताले भोग्नु परेको क्षतिको सम्बोधन गर्न सम्भव नभएको नगर सभापति हेमकर्ण पौडेलले बताए।

ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले सरकारले चाडै राहतको व्यवस्था मिलाउने बताएका छन् । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार राहत उपलब्ध गराइने उनले बताए । विपद्को व्यवस्थापन गर्ने विषयमा सरकार गम्भीर भएको उनको भनाइ छ।