इटहरी : नेकपा एमाले सुनसरीका पूर्व अध्यक्ष द्वारीकलाल चौधरीले पार्टीलाई प्राइभेट कम्पनी बनाउने चेष्टा नगर्न चेतावनी दिएका छन् । एमाले सुनसरीको विवाद समाधान गर्न डाकिएको बैठकमा माइक खोसेर निस्किए लगत्तै पत्रकार सम्मेलन गरेका चौधरीले पार्टीलाई कसैको विर्तावाल जस्तो नबनाउन चेतावनी दिएका हुन्।

जेठ २ अगाडीको अध्यक्ष आफू भएको बताउँदै उनले अवैधानिक तरीकाले पार्टी चल्न नदिने बताएका छन् । बुधवार इनरुवामा रमेश बस्नेत र रेवती रमण भण्डारी नेतृत्वको कमिटीलाई मिलाएर एउटै कमिटी बनाउने कार्यक्रम अवरुद्ध गरेका चौधरीले जेठ २ अघिको अध्यक्ष आफू नै भएको स्मरण गराए।

जिल्ला अध्यक्षकै लेटरप्याडमा विज्ञप्ति प्रकाशित गरेका उनले इनरुवाको ओम साइराम पार्टी प्यालेसमा बैठक प्रति घोर आपत्ति जनाएका छन् । २०७४ ज्येष्ठ २ मा पार्टी फर्किएर १० बुँदे सहमति कार्यान्वयनको अवस्थामा बस्नेतले अध्यक्षता गर्नुपर्ने र फर्किन नसक्दा भण्डारीले बैठकको अध्यक्षता गर्नुपर्ने उनको माग छ। दुवै अध्यक्षले अध्यक्षता नगरेको अवस्थामा जिल्ला परिषदबाट आफू निर्वाचित भएकाले आफ्नै अध्यक्षतामा बैठक बस्नुपर्ने उनको भनाई छ।

पार्टीका केन्द्रीय कमिटी सदस्य धर्मराज निरौला वा प्रदेश कमिटीका सदस्य खेमराज पोखरेलले अध्यक्षता गर्नु निन्दाजनक कार्य भएको चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विधानको व्यवस्थालाई उल्लङ्घन गरी टिकेप्रथा अनुसार अवैधानिक कमिटी निर्माण गरिएको उनले बताए ।

लेलिनवादी सङ्गठनात्मक सिद्धान्तलाई लत्याउदै कमिटी घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।