इटहरी : इटहरीका पत्रकार प्रकाश तिम्सिनालाई धम्की दिने मोहन भण्डारीले माफी मागेका छन् ।  फोहोरमैला व्यवस्थापनमा अनियमितता भएको विषयमा समाचार प्रसारण गरेकै आधारमा धम्की दिएका उनले माफी मागेका हुन् ।

सोमबार साँझ ग्यालेक्सी फोर के मा  इटहरी उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापनमा अनियमितता भएको विषयमा तिम्सिनाको रिपोर्ट प्रसारण भएको थियो । सो रिपोर्टमा गलत कुरा उल्लेख भएको भन्दै वेस्ट इन्भारो केयर प्रा.ली.का अध्यक्ष भण्डारीले अश्लील शब्द प्रयोग गर्दै गाली गरेका थिए । 

बारम्बार धम्की दिँदै गाली गरेका भण्डारीको विरुद्धमा बुधवार तिम्सिनाले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिए । सोही निवेदन उपर पत्रकार महासङ्घका पदाधिकारी, स्वयम् भण्डारी सहितको छलफलमा भण्डारीले माफी मागेका छन् । आफूले आवेशमा आएर गलत बोलेको भन्दै उनले माफी मागेका हुन् ।