धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेतिथि छानविन गर्ने उद्देश्यले गठित उच्च स्तरीय छानबिन समितिले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।

आज छानबिन समितिका संयोजक सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र धरानका मेयर तिलक राईले संयुक्त रुपमा प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाएको हो ।

वीपी प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार गठित छानबिन समितिले प्रतिवेदन बुझाएको जानकारी दिए। प्रतिष्ठानका बहालवाला उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको उनले जानकारी दिए । मेयर राईले अब चाँडै सिनेटको बैठक बोलाएर कारबाही प्रक्रिया अगाडी बढाइने बताए ।

यस्तै मेयर राईले प्रा.डा. मोहनचन्द्र रेग्मीले प्रतिष्ठानको रजिस्ट्रारबाट राजीनामा दिइसके पनि उनको कार्यकालमा भएका खरिद लगायत कुराको थप आवश्यक छानबिन गरी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार राजीनामा दिए पनि प्रा. डा. मोहनचन्द्र रेग्मीको कार्यकालमा भएको आवश्यक छानबिन गरेर कारबाही गर्ने प्रतिवेदनमा उल्लेख छ।

Pratibedan-5