धरान : धरान-८ मा यात्रुवाहक बसले पछाडिबाट एउटा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । 

अटल पम्प अघि बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । कोशी राजमार्गमा धरान बजारतर्फ आइरहेको मे १ ख ३१९६ नम्बरको यात्रुवाहक  बसले सोही दिसामा अगाडि गइरहेको को १९ प ८३७१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

बसको ठक्करबाट मोटरसाइकल चालक मोरङ केराबारी-४ का ४३ वर्षीय खगेन्द्र थेगिम लिम्बू र उनका २ छोरीहरू ९ बर्षीया भरोसा थेगिम लिम्बू र ७ बर्षीया खेसुङ थेगिम लिम्बू घाइते भएका छन् । घाइते तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइते मध्ये खगेन्द्र र खेसुङको अवस्था सामान्य छ भने भरोसालाई बढी चोटपटक लागेको उनका वुवा खगेन्द्र थेगिम लिम्बूले कपुरी न्युजलाई जानकारी दिए । 'भरोसाको टाउको र खुट्टामा चोट लागेको छ, ठुली छोरी भरोसा अलि बढी घाइते भएकी छिन् कान्छी खेसुङ र म सामान्य छौ तर पनि हामीले सहजरुपमा उपचार गर्न पाइरहेका छैनौ'।

'बसवाला अझै हाम्रो उपचारको लागि आएको छैन, आफै खर्च गरेर उपचार गरिरहेका छौ'- घाइते खगेन्द्रले भने । मोरङको केराबारी गाउँपालिका-८ पाटिगाऊ निवासी खगेन्द्र घर फर्किने क्रममा पेट्रोल पम्पमा पेट्रोल हाल्न मोड्दा पछाडिबाट बसले ठक्कर दिएको उनले खगेन्द्रले बताए । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार बस चालक ठकेन्द्र बहादुर कार्की र बस इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ ।