इटहरी : नेकपा एमाले सुनसरीको विद्रोही नेताको रूपमा चिनिएका द्वारीकलाल चौधरीको घरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले लन्च लिएका छन् । शुक्रवार दिउँसो चौधरीले घरैमा आयोजना गरेको कार्यक्रममा नेपाल सहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई लगायत नेकपा एसका नेताहरू सहभागी भएका हुन् ।

नेकपा एमाले विभाजन भएर बनेको नेकपा एसका नेताहरू सँगको चौधरीको निकटताले एमाले भित्र तरङ्ग ल्याएको छ। चौधरीले एमाले भित्रै विद्रोही भुमीमा देखाइरहेका बेला माधव नेपालको स्वागतले शङ्का उत्पन्न गरेको हो । यस अघि २०७४ जेठ २ अघिको अध्यक्ष आफू भएको बताउँदै आएका चौधरीको विद्रोही व्यवहारले सुनसरी एमालेमा हलचल ल्याएको छ।

इटहरी उपमहानगरपालिकाको अधिवेशनमा छुट्टै उम्मेदवार उठाउने र छुट्टै भेला बोलाउने काम गरेका उनी क्रान्तिकारी नेताको रूपमा चिनिन्छन् । लामो समयदेखि दुई कमिटीमा विभाजित सुनसरी एमालेको एकता हुने कार्यक्रममा पनि बागी प्रस्तुति दिएका उनले पार्टी विधान अनुसार नचलेको आरोप लगाएका छन् ।

गत बुधवार एमाले सुनसरीको बैठकमा माइक खोसेर पार्टी अवैधानिक हिसाबमा नेताहरूको स्वार्थमा चलेको बताएका थिए। रेवती रमण भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो । दुई अध्यक्षले अध्यक्षता नगर्ने भए आफूले पाउनुपर्ने अडान राखेका उनले पार्टीलाई प्राइभेट कम्पनी बनाउन खोजेको आरोप लगाएका छन्।

माधव नेपाल सँगको भेटमा इटहरीको विकाश निमार्ण लगायत विषयमा छलफल भएको मेयर चौधरी बताउँछन् । प्रदेश १ का मुख्यमन्त्री राईले इटहरीको विकाशको लागी ध्यान दिनुपर्ने भन्दै ध्यानाकर्षण गराइएको उनको भनाई छ । इटहरीको मुख्य समस्याको रूपमा रहेको बाढी र डुबानको विषयमा प्रदेश सरकारलाई जानकारी गराइएको उनले बताए ।