धरान : नेपाली काँग्रेस धरानका निवर्तमान सभापति तिलक राईले देउवा पक्षबाट दिएको उम्मेदवारीमा पूर्व सभापति किशोर राईले असन्तुष्टि जनाएका छन् । सुनसरी क्षेत्र नम्बर १ को सभापतिको उम्मेदवार रहेका तिलक राईलाई देउवा समूहले समर्थन गर्ने भएपछि उनले किशोर राईको समूहले आपत्ति जनाएको हो ।

भर्खरै सम्पन्न धरान उपमहानगर समितिको निर्वाचनमा किशोर राईलाई हराउन खुलेर लागेका तिलकलाई समर्थन गर्न नसक्ने उनीहरूको तर्क छ । संस्थापन इतर समूहका उम्मेदवार श्याम पोखरेल तिलक राईकै जोडबलमा विजयी भएका हुन् । उनीसँगै प्रतिस्पर्धामा रहेका किशोर राई पराजित भएका थिए ।

तर हाल संस्थापन पक्षकै समर्थनमा सुनसरी १ को सभापतिमा तिलक राईले उम्मेदवारी दिएका छन् । इतर पक्षबाट सुजेन्द्र तामाङको उम्मेदवारी परेपछि तिलक राईले संस्थापन पक्षको समर्थन खोजेका हुन् । संस्थापन पक्षका पुराना नेता किशोर राईले भने तिलकको उम्मेदवारीलाई सघाउन नसक्ने बताएका छन् ।

यसअघि संस्थापन पक्षबाट उम्मेदवारको चर्चामा रहेका पूर्ण सुवेदीकै समर्थनमा राईले उम्मेदवारी दिने भएका छन् । पार्टी संस्थापन पक्षले सुवेदीलाई प्रदेशको समानुपातिक सांसदमा व्यवस्थापन गर्ने बाचा गरेपछि उनी पछि हटेको बताइएको छ । अहिले सुवेदी तिलकको पक्षमा मत माग्दै कार्यकर्ता भेटघाटमा छन् ।

भर्खरै संस्थापन पक्षलाई चुनावमा हराउनेलाई ताज पहिर्याउन नसक्ने किशोर राईको तर्क छ । हिजो देउवा समूहको लागी कोही नहुँदा खटेको कार्यकर्ताको अपमान भएको उनको भनाई छ । किशोरले नेपाली काँग्रेस विभाजन भएको समयमा प्रजातान्त्रिक काँग्रेसको धरान नगर सभापति चलाएका थिए । तत्कालीन अवस्थामा प्रजातान्त्रिक काँग्रेसमा खुल्ने नेताहरूको अभाव भएको बेला किशोर राईले साथ दिएका थिए।

संस्थापन पक्षका मीन विश्वकर्माले पनि इतर पक्षका नेतालाई टिममा ल्याउने अभियान थालेका छन् । तिलक राईलाई देउवा समूहको उम्मेदवार बनाउन सके केन्द्रसम्म नै आफ्नो सकारात्मक सन्देश जाने विश्वकर्माको बुझाई छ। टिमको लागी काम देखाउन उनले निक्कै मेहनत गरिरहेका छन् ।

केन्द्रमा मात्र पकड भएको आरोप लाग्ने गरेका विश्वकर्माले भूगोलमा पनि कार्यकर्ता समेट्ने प्रयत्न थालेका छन् । तथापि उनकै कारण देउवा समूहका पुराना कार्यकर्ता पाखा लाग्दै गएका छन् ।