आज का​कार्तिक शुक्ल नवमी अर्थात् आज कुष्माण्ड नवमी । यस नवमीलाई अमला नवमी र धात्री नवमीको नामले पनि चिनिन्छ । आज अमलाको वृक्षको पूजा गरिन्छ । भगवान् विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ ।

आजको दिन विष्णु भगवानले कुष्माण्डक नामक दैत्यलाई वध गरेको र त्यसको रौँबाट कुष्माण्ड अर्थात् कुभिन्डोको लहरा निस्केको धार्मिक मान्यता रहेको छ। त्यसै कारणले आजको दिन कुष्माण्ड अर्थात् कुभिन्डो दान गर्नाले उत्तम फल मिल्ने विश्वास गरिन्छ भने आजको दिनलाई युग परिवर्तन भएको दिन पनि मानिन्छ।

आजकै दिन विशेष गरेर व्रत तथा उपासना बसी ब्राह्मणलाई दक्षिणासहित कुभिन्डो दान गर्ने प्रचलन रहेको छ। आजको दिन कुभिन्डोमा सुनको प्रतिमा राखेर दान गरेमा पृथ्वी दान गरेको पुण्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ । आजकै दिन अमलाको फेदमा बसेर वनभोज या प्रसाद बनाएर खाने चलन रहेको छ। आजको दिनमा अमला सेवन गर्नु अमृत समान हुने विश्वास रहेको छ ।

अमलाको पूजा गर्दा पूर्व तिर फर्की जल, चन्दन, अक्षता, फूल, आदिले पूजा-अर्चना गरेर पहेँलो धागोले अमलाको रूखको परिक्रमा गर्नुपर्दछ भने आज १०८ पटक अमलाको परिक्रमा गर्नाले सबै मनोकामना पूर्ण हुने जनविश्वास समेत रहेको छ । अमलाको पूजन पश्चात् अमलाको छाहरिमा ब्राह्मण भोज पनि गराउने गर्दछन्। अमलाको रूखमुनि बसेर ‘ॐ धात्र्ये नमस्’ यो मन्त्रले अमलाको जरामा दूधको धारा दिएर पितृहरूलाई तर्पण दिन सकिन्छ।