झापा : नेपाली काँग्रेस झापा जिल्ला समितिमा दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ। पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा प्यानल बिच प्रतिस्पर्धा हुने भएको हो । लामो समयदेखि सिटौलाको वर्चस्व रहँदै आएको झापामा यस पटक परिणाम उल्ट्याउने दाउमा शर्मा प्यानल लागीपरेको छ । उता सिटौला प्यानलले भने वर्चस्व कायम राख्ने योजना बनाएको छ।

पार्टीको १३ औँ महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरेको झापाले यस पटक चुनावी परिणामबाट नेतृत्व पाउने भएको छ । ९ बुँदे सहमति सहित उद्धव थापालाईलाई सभापतिको जिम्मेवारी दिइएको थियो । अर्का अकांक्षी देउमान थेबेलाई राजनैतिक भूमिकामा राख्ने सहमति सहित थापा सर्वसम्मत भएका थिए । थेबेले आफूलाई १४ औँ अधिवेशनमा सर्वसम्मत सभापति दिने भएपछि छाडेको बताउँदै आएका छन् । आफले सर्वसम्मत नेतृत्व पाउनुपर्छ भन्दै उनले नेताहरूसँग भेटघाट अगाडी बढाएका छन् ।

२०७२ फागुन २५ गतेको सहमति अनुसार आफूले सभापति पाउनुपर्ने उनको दाबी छ । सहमति अनुसार सभापति नबनाए चुनावी प्रतिस्पर्धामा सहभागी हुने उनले बताउँदै आएका छन् । मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको लागी अर्का उपसभापति राम बहादुर कट्टेल समेत उम्मेदवारी दिएका छन् । यसअघि सिटौला प्यानलका कट्टेलले शर्मा प्यानलबाट सभापतिको उम्मेदवारी दिएका हुन्।

शर्माले केन्द्रीय महामन्त्रीको घोषणा गर्न झापाको बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा पनि कट्टेलले सभापतिको लागी भोट मागेका थिए । शर्माले कट्टेल जस्तो इमान्दार र कर्मठ नेतालाई विजयी गराए झापा काँग्रेस मजबुत हुने भन्दै भोट मागेका थिए।

९ बुँदे सहमतिमा थेबेलाई सर्वसम्मत सभापति दिने कुरा उल्लेख नभएको भन्दै शर्मा पक्षले सभापतिमा उम्मेदवारी दिने बताएको हो । हालका सभापति थापाको नेतृत्वमा झापामा काँग्रेसले उल्लेख्य उपलब्धि हासिल नगरेको भन्दै नेतृत्व परिवर्तनको मुद्दा बलियो बन्दै गएको छ। १५ मध्ये ५ पालिका मात्र विजयी भएको र प्रतिनिधिसभामा एक सिट पनि विजयी गराउन नसकेको भन्दै थापाको आलोचना भएको हो।

उता थापाले भने नेतृत्व परिवर्तन गर्न तयार भएको तर सहमति अनुसार थेबेले सभापति पाउनुपर्ने बताउँदै आएका छन् । थेबेलाई पार्टी सभापति बनाउने बुँदा रहेको उनको दाबी छ। उता पूर्व केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीले आफू साक्षी बसेर थेबेलाई सभापति बनाउने सहमति गरेको बताएका छन् । सहमति पालना नगरेर शर्माले कट्टेललाई उम्मेदवार बनाएकोमा उनको आपत्ति छ ।

उता शर्मा पक्षले भने भ्रम छरेर हुँदै नभएको सहमतिलाई प्रचार गरेको बताएको छ। स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लोकतान्त्रिक पद्धतिको पालना गर्न शर्मा पक्षले आग्रह गरेको छ। शर्माले लामो समयदेखि झापालाई आफ्नो पक्षमा पार्न मेहनत गर्दै आएका छन् ।

थेबेलाई पुराना काँग्रेसी नेताको साथ रहेकाले उनी बलियो उमेद्धवारको उपमा देखिएका छन् । सिटौला सहित पूर्व केन्द्रीय सदस्य बुढाथोकी, झापा सभापति थापा, कोषाध्यक्ष केशवराज पाण्डे, पूर्व सभापति सुधीरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला उनलाई समर्थन गरेका छन् ।

उता कट्टेलको पक्षमा प्रवक्ता शर्मा, सांसद महिन्द्रा कुमारी लिम्बू, पूर्व सांसद उषा गुरुङ, जिल्ला सचिवद्वय प्रेम सम्बाहाम्फे र तारावीर कटुवाल, सहसचिव राजेन्द्र भण्डारी, प्रवक्ता लोकराज ढकाल लगायत छन् । निक्कै प्रतिस्पर्धात्मक देखिएको निर्वाचनमा शर्मा पक्षले नेतृत्व हत्याउने रणनीति बनाएको छ । तथापि क्षेत्रीय प्रतिनिधि र पालिका अधिवेशनको अवस्थालाई हेर्दा सिटौला पक्ष हाबी देखिएको छ।