विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

२५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २६, झापामा १७, सुनसरीमा ७ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २२, सुन्दरहरैचा, रंगेली, बुढीगंगा र सुनबर्षीमा १-१, झापाको भद्रपुरमा ११, बुद्धशान्तिमा ३, मेचीनगरमा २ र अर्जुनधारामा १, सुनसरीको धरानमा ४, इनरुवामा २ र दुहबीमा १ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।